२०७४ साउन, २३
मोरङ्ग जिल्लाको सुन्दर हरैचा ५, फोकलान  टापूमा फैलिएको अज्ञात रोगको अध्ययन र अनुसन्धान ।

विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा मोरङ्ग जिल्लाको सुन्दर हरैचा ५, फोकलान टापूमा फैलिएको अज्ञात रोगको कारण २ जना बालबालिकाको मूत्यु भएको खवर आए सँगै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (स्वास्थ्य मन्त्रालय) को गम्भीर ध्यानाकषर्ण भएको छ । उक्त महामारीको कारण पत्ता लगाउनको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सम्वन्धित निकायहरु (EDCD, NPHL, DPHO Morang, Koshi Regional Hospital) सँग समन्वय गरि यहाँबाट अनुसन्धान टोली पठाएको थियो ।

उक्त अनुसन्धान टोलीले जिल्ला जन— स्वास्थ्य कार्यालय मोरङ्ग, कोशी क्षेत्रीय अस्पताल, नोबेल मेडिकल कलेज, विश्व स्वास्थ्य संगठन विराटनगर कार्यालय, सुन्दर हरैचा स्वास्थ्य चौकी र सम्वन्धित वडा अन्तर्गतका वडा कार्यालय र राजनितिक कर्मीहरुको समन्वय र सहयोगमा महामारी स्थलमा गई स्वास्थ्य परिक्षण, रगतको नमूना संकलन, महामारीको अध्ययन, स्थलगत अध्ययन र निरिक्षण तथा मृत्यु भएका बालबालिकाहरुको घरमा गई मौखिक जानकारी संकलन गरेको थियो ।
प्रारम्भिक अध्ययन अनुसार महामारी स्थलका मानिसहरुमा ३८ डिग्री भन्दा माथी ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने कारणहरुलाई आधारमानि स्वास्थ्य परिक्षण र Rapid Test बाट रगतको नमूना जाँच गर्दा Leptospira नामक विषाणुले लाग्ने Leptospirosis नामक रोग देखिएको साथै महामारी स्थल फोकलान टापुबाट लिईएको ७ जना बिरामीहरुको रगतको नमूना मध्ये रक्त परिक्षण पश्चात् २ जनामा Leptospirosis Positive देखिएको जानकारी समेत NPHL मार्फत प्राप्त भएको थियो । उक्त अनुसन्धान टोलीले फोकलान टापूका सम्पूर्ण बासिन्दाको रक्त नमूना संकलन गरि अन्य विशेष जाँचको लागि NPHL पठाईएको र उक्त परिक्षणको नतिजा आए पश्चात् यस महामारीका बारेमा थप जानकारी प्रतिवेदन मार्फत सार्वजनिक गराउनेछ ।
उक्त रोग सर—सफाईको कमी, घर पालुवा जनावरहरु सँगको  अति निकट सम्वन्ध, मरेका वा सडेगलेका मासु खादाँ फैलिएको हून सक्छ । भौगोलिक बिकटता, जंगलको अत्यन्त नजिक बस्ती, स्वास्थ्य परिक्षणको लागि खोला तरेर आउन पर्ने बाध्यता, गरीबी, निरक्षरता र जन चेतनाको कमीका कारणले महामारी  फैलिएको र २ जना बालबालिका समेत गुमाउन परेको देखिन्छ । उक्त महामारीबाट पाठ सिक्दै भविष्यमा यस्ता महामारी जन्य घटनाहरु दोहोरिन नदिन अपनाउनु पर्ने जन चेतना, सर—सफाई तथा महामारी रोगहरुको बारेमा विस्तृत  जानकारी सम्पूर्ण नागरिकहरुमा पु¥याउनु पर्ने टड्कारो आवश्यकता देखिन्छ ।
प्रा. डा. अन्जनी कुमार झा
कार्यकारी अध्यक्ष